अत्यधिक गर्मी बढेसंगै धमाधम बन्द हुँदै विद्यालय



काठमाडौं,२८ जेठ । गर्मी अत्याधिक बढेपछि तराई मधेससहित विभिन्न स्थानका विद्यालयहरु धमाधम बिदा दिन थालिएको छ ।

बारा र पर्सा जिल्ला विद्यालयहरु गर्मीका कारण तीन दिन बिदा दिइएको भोलिपल्ट बुधबार चितवन र सुनसरीमा कतिपय विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ।पछिल्ला केही दिन तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुगेपछि चितवनको भरतपुर महानगरपालिकाले आजदेखि पर्सि शुक्रवारसम्म विद्यालयमा बिदा दिएको हो । जेठ ३१ गते शनिवार परेकाले भरतपुरका विद्यालय अब असार १ गते आइतवार खुल्नेछन् ।

महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार आज जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रवारसम्म विद्यालयमा बिदा दिने निर्णय भएको छ । बिदाको बेलामा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उहाँले अभिभावकसँग आग्रह समेत गर्नुभएको छ ।

यस्तै गर्मीका कारण सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा पनि तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर परेको र पठनपाठनमा समेत समस्या भएकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । यो बिदा बर्खे बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी इटहरी उपमहानगरमा गर्मीका कारण आज एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गरिएको थियो । तराई÷मधेसका अरू कतिपय पालिकाले पनि विद्यालयमा बिदा दिएका छन् ।

मंगलबार मात्रै पर्सा र बारामा गर्मी बढेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो ।पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौंँ,” उनले भने, “असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।”

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ । त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैयाँ उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ ।

बाराकाे कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यधिक गर्मीको कारणले महानगरअन्तर्गतका केही विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा समस्या देखिएकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरका अनुसार असार १ गतेदेखि भने विद्यालय निर्वाध रूपमा सञ्चालन हुनेछ ।

तराई-मधेसका अरू कतिपय पालिकाले पनि विद्यालयमा बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्