संयुक्त जनआन्दोलन समितिले गर्यो तीनकुने घटनामा गोली लागेकी खत्रीलाई ८ लाख बढी सहयोग
काठमाडौं,२८ जेठ। तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी,निर्देशक समितिका सदस्यहरु डा प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेशराज वास्तोलाको संयोजनमा लिजवन,पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।
सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरे । खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको हो ।
टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

