खुम्बु पासाङल्हामुमा माओवादी केन्द्रको २१ सदस्यीय समिति,अध्यक्षमा तामाङ निर्बाचित
सोलुखुम्बु,२७ जेठ ।नेकपा माओवादी केन्द्र खुम्बु पासाङल्हामु गाउँपालिका समितिको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न गाउँ पार्टी समितिको दास्रो गाउँ सम्मेलनले तामाङको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका समिति निर्वाचित गरेको हो ।

नेकपा माओवादी प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीका अनुसार नवनिर्वाचित समितिको उपाध्यक्षमा फुनुरु शेर्पा,आङ सोना शेर्पा र महिला उपाध्यक्षमा एन्जल राई निर्वाचित हुनुभएको छ । यस्तै समितिको सचिवमा दाकिन्जो शेर्पा,सहसचिवमा प्रकाश राई र सन्तोष तामाङ र कोषाध्यक्षमा दुर्जो बहादुर राईसहित अन्य २१ सदस्य निर्वाचित हुनुभएको छ । यस्तै पालिका इन्चार्जको जिम्मेवारी तिलक श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई सुरवीरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि १७ जनाले पार्टी प्रवेश गरेको पनि प्रचार प्रसार संयोजक कार्कीले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई जिल्ला इन्चार्ज हेमकुमार राई सुरवीर र प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पाले स्वागत गर्नुभएको छ ।
सम्मेलनलाई संबोधन गर्दै माओवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई सुरवीरले देशमा सुशासन तथा जनअपेक्षा अनुसारको विकासका लागि माओवादी पार्टीको विकल्प नरहेको दावी गर्दै सबैलाई माओवादीमा आउन र सहयोग गर्न आग्रह गर्नुभयो । वर्तमान सरकार भ्रष्टाचारीको नाइके रहेकाले सरकार निकटका भ्रष्टाचारीलाई संरक्षण गर्ने र प्रतिशोधको हिसाबले अन्य दलका नेताहरुलाई मुद्दा चलाउने सम्मको काम गरेको उहाँको दावी छ ।
यस्तै,जिल्ला संयोजक नाम्गेल शेर्पाले सोलुखुम्बु सहित देशको विभिन्न स्थानीय तहमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरेको विकास देखेर पार्टी प्रतिको आकर्षण बढेको भन्दै अबको निर्वाचनमा माओवादीका उमेद्वार अधिकांश स्थानमा जित हासिल गर्ने आधार रहेको बताउँनुभयो ।

