संसदको गतिरोध हटाउने सभामुख घिमिरेको प्रयास आज पनि असफल



काठमाडौं,२५ जेठ । संसदको गतिरोध हटाउने प्रयास स्वरुप सभामुख देवराज घिमिरेले डाकेको सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ।

संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले अडान कायम राखेपछि बैठक निष्कर्ष बिहीन भएको हो।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बताएका थिए।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको विपक्षी दलको अवरोधका कारण संसद बैठक प्रभावित हुँदै आएको छ। जेठ १३ गते देखि बैठक बस्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्