डलर देखाएर तीस लाख ठगी गर्ने सिन्धुपाल्चोकका तामाङ पक्राउ



काठमाडौँ,२० जेठ । डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न तारा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।

उता,वीरगंज महानगरपालिका-२१ स्थित परवानीपुर चोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार जिल्ला बेतीया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेका छन् ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्