नेकपा माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने



काठमाडौँ,१६ जेठ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब बैठक चल्न नदिने माओवादीको निष्कर्ष छ ।

बैठकले यही साता पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। एकताबाट केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्