नयाँ विद्यार्थी भिसा (प्रवेशाज्ञा) आवेदनहरू अस्थायी रुपमा रोक्न ट्रम्पको निर्देशन
वासिङ्टन । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा (प्रवेशाज्ञा) आवेदनहरू अस्थायी रुपमा रोक्न निर्देशन दिएको छ ।

अमेरिकाले अब आवेदकहरूको सामाजिक सञ्जालको गहन अनुसन्धानको प्रक्रिया सुरु गर्ने बताइएको छ । हार्वर्ड विश्वविद्यालयले प्राप्त गरेको सरकारी कोषको समीक्षा गर्ने तयारीपछि यो आदेश आएको बीबीसीको समाचारमा जनाइएको छ ।यसले डोनाल्ड ट्रम्प नेतृत्वको सरकार र केही अमेरिकी विश्वविद्यालबीचको विवादमा अर्को मोड ल्याएको छ । धेरै अमेरिकी कलेज कोषका लागि विदेशी विद्यार्थीहरूमा निर्भर छन् ।
यसैबीच हार्वर्ड विश्वविद्यालयविरुद्ध ठूलो कारबाहीको तयारी भइरहेको जनाइएको छ ।‘हार्वर्डले प्राप्त गर्ने कोष या त रोकिनेछ वा यो कुनै अन्य संस्थालाई दिइनेछ,’ ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, ‘सरकारी सेवा एजेन्सीले हार्वर्डसँगको सम्झौता समाप्त गर्ने वा अर्को संस्थालाई दिने सम्भावनाको बारेमा सोध्दै अन्य एजेन्सीहरूलाई पत्र पठाउने छ ।’
हार्वर्डसँग लगभग ३० वटा यस्ता सम्झौता हाल चलिरहेको ट्रम्प प्रशासनको अनुमान छ । यी सबै सम्झौताको कुल मूल्य १०० मिलियन डलर छ ।हार्वर्ड विश्वविद्यालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
गत हप्ता ट्रम्प प्रशासनले हार्वर्डमा विदेशी विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । यसपछि, हार्वर्डले ट्रम्प प्रशासनको यो निर्णयलाई अदालतमा चुनौती दिएको छ ।

