गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठकमा बिपक्षीको अवरोध
काठमाडौं,१३ जेठ । प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

रास्वपा, माओवादी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरु उभिएरै होहल्ला गरेका थिए ।”गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । अनिमात्रै संसद् चल्छ,” विपक्षी दलका सांसदहरुको धारणा रहेको छ ।
संसद् बैठक सुरु हुने बित्तिकै बोलेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागेका हुन् । त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वको सहयोगविना सम्भव नरहेको उनले बताए ।
उनले भने, “विभिन्न बैठकमा उहाँ (लेखक) धेरै नैतिकताको कुरा उठाउनुहुन्छ । विभिन्न सुरक्षा, अनुसन्धान निकाय उहाँको मातहतमा छ । त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दिनुस् । अहिले नै उहाँ दोषी भन्दैनौँ । नभए संसद् चल्दैन ।”
रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताए ।

