किराँत राई यायोख्खाको आयोजनामा क्रोशियामा भब्य रूपमा मनाईयो उभौली पर्ब
दिप खालिङ,१२ जेठ । युरोप(क्रोशिया)। किराँत राई यायोख्खा क्रोशियाको उँभौली शुभकामना आदन प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

क्रोसियाको राजधानीस्थित जाग्रेबमा आइतबार किराँत राइहरुको परम्परा अनुसार मौलिक चाड उभौली साकेला बिशेष रुपले मनाइएको हो।किराँत राईहरुले पगरी लगाउने मुन्दुमीमा शीर उठाउँदा कुनै पनि काममा असफल हुँदा र सफल हुँदा दुवै अबस्थामा कुलापितृ राख्दा वा पुजा गर्दा, शुभ कार्य आदि अबस्थामा शीरउठाउने ( सायरेम्मा ) गर्ने चलन छ । त्यसै अनुरुप प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई पगरी/फेटा शिरमा लगाई दिँदै सत्कार सम्मान आयोजकले गरेको थियो । प्रमुख अतिथि एनआरएनए क्रोसियाका अध्यक्ष सुर्य कुमार थिङ(साइमान लामा)र किराँत राई यायोख्खा क्रोसियाका अध्यक्ष अशोक राईले पानसमा दिप प्रज्जलन गर्नुका साथै किराँतिहरुको मौलिक बाजा ढोल, झ्याम्टाको तालमा साकेला शिली प्रदर्शन गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
बर्षमा दुइ पटक मनाईने यो चाड कृषियुग शुरु भएदेखि नै प्रचलनमा आएको विश्वास रहिआएको छ ।अन्नबाली नष्ट नहोस, रोगब्याधी नलागोस,सुब्यफाब्य होस,दैबी प्रकोप तथा बिपत्तिहरु नआउन भन्ने कामनासहित प्रकृति,भुमि तथा पितृको पुजाआजा गर्दै उभौली शुरु गरिन्छ । जलचर-थलचर उधो अर्थात बेसींदेखि उभो लाग्ने समय उभौली र उँभोदेखि उधो झर्ने बेला मङ्सीर पुर्णिमादेखि उधौली मनाईन्छ।
मानब जातिको जीबनयापन प्रकृतिसङ समर्पित छ,त्यसैले चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल-झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना सहितका गीत गाउँदै साकेला मनाइन्छ। त्यसैले बिश्वका विभिन्न भागमा किराँत राईहरु बसोबास गरेता पनि आफ्नो मौलिक संस्कार,सँस्कृतिलाई शिरोपर गर्दै उक्त कार्यक्रममा विभिन्न शिली, तथा अन्य सँस्कृतिमूलक प्रदर्शन गरिएको थियो ।
तमु समाज क्रोसिया,तमाङ समाज क्रोसिया,शेर्पा किदुक क्रोसिया र तमाङ समाज क्रोसियाका कलाकारहरुले आफनो सँस्कृतिमा रहेको नृत्य प्रस्तुत गर्नु भएको थियो । साथै सँस्थागत रुपमा आयोजकले सम्मान पत्र प्रदान गर्नु भएको थियो । अन्य अथितिहरु र कलाकारहरुलाई पनि मायाको चिनो प्रमुख अतिथिद्वारा हस्तान्तरण गर्नुभएको थियो ।
किरात राई यायोख्खा क्रोसियाले online साकेला नृत्य प्रतियोगिता आयोजना गरेकोमा खोटाङका लिजा राई प्रथम, उदयपुर बेल्टारका किसु राई द्दितिया,धरान सुनसरीका कन्चन राई तृतीय र उदयपुरका मनिता पुमा राईले सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार १० हजार,५ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

किराँत राईहरुले उभौली साकेला चाड क्रोसियामा पहिलो पटक मनाएको साथै आफ्नो समाज,संस्कृति,संस्कारलाई उजागरण गरिरहेको भन्दै प्रमुख अतिथि साइमान लामाले धन्यवाद तथा खुसी व्यक्त गर्नुभयो ।
आफ्नो धर्म,सँस्कृति भन्दा टाढा रहेर बस्न कोहि सकिँदैन। जुन कुराले मानिसलाई एउटा परिधिमा बाँधिएर राखेको हुन्छ। परम्परागत मौलिक चाड साकेला तथा नयाँ बर्ष ५०८५ को सुरुवात भएसङै यो किराँत राई यायोख्खा क्रोसियाको पहिलो ऐतिहासिक कार्यक्रम आयोजना भएको र युवा पुस्ताले आफ्नो रितिरिवाजलाई जगेर्ना गर्नु एक जिम्मेवारी रहेको कार्यक्रमका सभापति तथा किराँत राई यायोख्खा क्रोसियाका अध्यक्ष अशोक राईले बताउनु भयो ।
किराँत राईहरुको यले सम्बत ५०८५ नयाँ बर्ष साथै उभौली साकेला कार्यक्रममा किरात राई तथा गैरकिरात राई समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

