माओवादी केन्द्र र नेसपाको श्रेष्ठ समूहबीच आज एकता घोषणा
काठमाडौं,१२ जेठ । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता घोषणा हुने भएको छ। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे सुरु हुने कार्यक्रममा दुई पार्टीबीचको एकताको औपचारिक घोषणा गरिनेछ ।

नेसपाका अध्यक्ष महिन्द्र राय यादव एकताको प्रक्रियाबाट पछि हटेपछि गंगानारायण श्रेष्ठले आफ्नो समूहलाई माओवादी केन्द्रमा समाहित गर्न लागेका हुन् । नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ।
गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवारहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए। त्यतिबेलै दुई दलबीच पार्टी एकता गर्ने सहमति भएको थियो। तर, यादव एकताका लागि पछि हटेको भन्दै श्रेष्ठले माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई अगाडि बढाएका थिए।

