राजाबादी आन्दोलनमा दमन र त्रास सिर्जना गर्ने काम नगर्न सरकारलाई अन्तर्राष्ट्रिय प्रजातन्त्र संघको आग्रह
काठमाडौँ,१० जेठ । नेपालमा वर्तमान व्यवस्थाविरुद्ध राजसंस्थाको पुनःस्थापनाको मागसहित हुँदै आएका प्रदर्शनप्रति चासो व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रजातन्त्र संघ (IDU) ले नेपाल सरकारलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।

संघले शुक्रबार एक वक्तव्य जारी गर्दै प्रदर्शनका क्रममा राप्रपा नेतासहित दर्जनौँ राजावादी कार्यकर्ताको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ। ‘हामी शान्तिपूर्ण रूपमा राजनीतिक विचार व्यक्त गरेका नागरिकहरूको गैर कानुनी गिरफ्तारीको तत्काल र बिना सर्त रिहाइको माग गर्दछौँ’ वक्तव्यमा भनिएको छ।
संघले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण प्रदर्शनलाई आधारशिला मानेको उल्लेख गर्दै सबै नागरिकलाई राजनीतिक विचार अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्ने बताएको छ। साथै, नेपालमा संवैधानिक राजतन्त्र पुनः स्थापनाबारे संवाद गर्न सरकार, राजनीतिक दल,नागरिक समाज र आम नागरिकलाई आग्रह गरेको छ।
‘कुनै पनि निर्णय लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्छ र नागरिकको धर्म वा विचारका आधारमा विभेद हुनुहुँदैन,’ संघले भनेको छ। संघले बल प्रयोग र त्रास सिर्जना गर्ने कुनै पनि कार्यबाट टाढा रहन नेपाल सरकारलाई सचेत गराएको छ। ‘जबसम्म प्रदर्शनकारीहरूले कानुनको सम्मान गर्छन् र हिंसा गर्दैनन्, तबसम्म उनीहरूले सुरक्षित वातावरणमा असन्तुष्टि व्यक्त गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ,’ संघको भनाइ छ।
अन्त्यमा, संघले नेपालमा लोकतन्त्र, मानवअधिकार र कानुनी शासनको पक्षमा दृढ समर्थन जनाउँदै सबै प्रकारका राजनीतिक हिंसाको निन्दा गरेको छ। संघले शान्तिपूर्ण र समावेशी समाधानमार्फत जनताको सरकारमा विश्वास पुनःस्थापना र स्थायित्वको कामना पनि गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शुक्रबार विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

