सोमबार थप ८ जनाको मृत्यु, ७ सय ३४ जना संक्रमित

काठमाडौं,८ भदौ । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएको पुष्टि भएको हो । जसमध्ये ३ जना महिला र ५ जना पुरुष रहेका छन् । रुपन्देहीमा सबैभन्दा बढी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षीया महिला रहेका छन् । साथै सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीया महिला र काठमाडौमा ४८ वर्षीया महिलाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।

सोमबार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।
आज सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार २ सय २९, प्रदेश नम्बर २ मा १ हजार ७ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ७३, गण्डकी प्रदेशमा ३ सय ५८, प्रदेश नम्बर ५ मा ८ सय ८४, कर्णाली प्रदेशमा ३ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५७ गरी देशभरीका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जना रहेका छन् ।
त्यस्तै देशभर ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन । जसमध्ये प्रदेश नम्बर १ मा २ सय ६३, प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा ४ सय ३५, गण्डकी प्रदेशमा १८, प्रदेश नम्बर ५ मा २ सय ९८, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा २६ जना रहेका छन् ।
सोमबार थप १ सय ७५ जना डिस्चार्ज भएका छन । योसँगै देशभर हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ । साथै अहिले देशभर ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

