कान्तिपुर टेलिभिजन :चरणबद्द कर्मचारी कटौती गर्ने ब्यबस्थापनको तयारीप्रति कर्मचारी संघको बिरोध

काठमाठौं । कान्तिपुर टेलिभिजनमा क्रियाशील पत्रकारहरुलाई व्यवस्थापन पक्षले रोजगारीबाट निकाल्ने लगायतको कार्य गरेको भन्दै कान्तिपुर टेलिभिजन कर्मचारी संघले विरोध गरेको छ ।

कान्तिपुर टेलिभिजन कर्मचारी संघका अध्यक्ष निर्मला बस्नेतले एक विज्ञप्ति जारी गर्दै कर्मचारी कटौती गर्नु र रोजगारीबाटै हटाउने कार्यको विरोध जनाउनु भएको छ ।
कोरोना भाइरसको महामारीको समयमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्नुको सट्टामा व्यवस्थापनले रोजगारीबाट निस्कासन गर्नेजस्तो कार्य अमानवीय र अन्यायपूर्ण निर्णय भएको संघले ठहर गरेको छ ।
व्यवस्थापनले संघका कार्यबाहक महासचिव राजन तामाङ, केन्द्रिय सदस्यद्वय प्रकाश थापा र रविन्द्रध्वज शाहलाई रोजगारबाट निस्कासन गर्ने निर्णय भएको र चरणबद्ध तरिकाले कर्मचारी कटौती गर्ने, नामावली तयार भएको भन्दै मौखिक रुपमा जानकारी गराएकोप्रति समेत संघले कडा आपत्ति जनाएको छ ।
कर्मचारी संघले कार्यक्षेत्रमा क्रियाशिल कर्मचारीहरुलाई नियोजित रुपमा निकाल्ने प्रयास संघ माथिकै आक्रमण भएको भन्दै कर्मचारीहरुले रोजगारी गुमाउनु पर्ने अवस्था आउनु दुःखद रहेको भन्दै अंग्रपंक्तिमा रहेका कर्मचारीहरुलाई कुनै पनि अवस्थामा रोजगारीबाट हात धुनुपर्ने अवस्था नआओस् भन्दै व्यवस्थापन समक्ष जोडदार माग गरेको वस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


