कांग्रेसको १५औँ महाधिवेशन : विभिन्न तहको निर्वाचन कार्यतालिका सार्वजनिक




काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ २ गते विज्ञप्ति जारी गर्दै वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका निर्वाचन कार्यक्रमको मिति सार्वजनिक गरेको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिअनुसार पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुनेछ। यसअघि निर्धारित यही मितिलाई कायम राख्दै महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको समितिले जनाएको छ।

नयाँ कार्यतालिकाअनुसार भदौ २ देखि १० गतेसम्म काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर निर्वाचन प्रतिनिधिहरूलाई केन्द्रीय निर्वाचन समितिले अभिमुखीकरण तालिम दिनेछ। भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडा निर्वाचन प्रतिनिधि खटाउने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी भदौ १६ देखि २० गतेसम्म वडा तहका निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ। सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने कार्यतालिका छ।
कांग्रेसले भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने भएको छ। भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन तथा भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज ३ गते हुनेछ। उक्त अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा सम्बन्धित कार्यसमितिको निर्वाचन गरिनेछ।
त्यसपछि असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। अन्तिम चरणमा असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा पार्टीभित्र व्यापक सहभागिता, संवाद र सहमतिको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको जनाएको छ। साथै मनसुनको समयका कारण वडा, गाउँ–नगर, महानगर तथा क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई समेत ध्यानमा राखेर कार्यतालिका निर्धारण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार यसअघि नै नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, बेल्जियम, भारत, जापान, दक्षिण कोरियालगायत १५ देशका अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी अधिवेशनहरू पनि निर्धारित समयभित्र सम्पन्न गर्दै महाधिवेशन प्रक्रियालाई अगाडि बढाउने तयारी कांग्रेसको छ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित कार्यतालिकाअनुसार नै १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रिया अघि बढाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्