सोलुदुधकुण्डको वडा नं १ मा सुबिधासम्पन्न कार्यालय भवन बन्दै,नगर प्रमुख शेर्पाद्वारा शिलान्यास
सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।

टाक्सिन्दुमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले सो भवनको शिलान्यास गर्नुभएको हो।
वडा नं १ का वडाध्यक्ष छोङ्वा शेर्पाको सभाध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङ, नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा, नगर प्रवक्ता एंव ६ नं. वडाका वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, नगर कार्यपालिका सदस्य कुलध्वज घर्तिमगर, १ नं वडाका पुर्व वडा अध्यक्ष छोङ्वा लामा शेर्पा लगायतको उपस्थिति रहेको थियो।
भवन निर्माणका लागि देनडुब निर्माण सेवासंग भ्याटसहित १ करोड २२ लाख ३६ हजारको लागतमा २०८२ जेठ ३० गते सम्पन्न गर्ने गरी गत साउनमा सम्झौता सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
सुबिधा सम्पन्न भवनबाट सेवा प्रवाह सहज हुने भएकाले नगरपालिकाले प्राथमिकताका साथ कार्यालय भवन निर्माणलाई प्राथमिकता दिएको बताउँदै प्रमुख अतिथि नगरप्रमुख शेर्पाले गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो।
नगरपालिकाको प्रशासनिक भवनसमेत यसै बर्षबाट निर्माण सुरु गर्न लागेको नगरपालिकाले यसै आर्थिक बर्षबाट वडा नं ८ केरुङ र वडा नं १० टाप्टिङको प्रशासनिक भवन निर्माण सुरु गरिसकेको छ भने वडा नं ११ तिङ्लामा भवन निर्माण सम्पन्न भएर सेवाप्रवाह सोही भवनबाट भइ रहेको नगरपालिकाले जनाएको छ।

