प्रधानमन्त्री र गृहमन्त्रीको नजिकको मान्छे भन्दै धम्क्याएर रकम असुली गर्ने ब्यक्ति पक्राउ



झापा,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको दाबी गर्ने एक जना पक्राउ परेका छन् ।

सरकारी कार्यालय र विभिन्न संघसंस्थामा धाकधम्की दिएको आरोपमा झापाका सुजन विश्वकर्मा पक्राउ परेका हुन् ।

हल्दीबारी निवासी विश्वकर्माले आफू प्रधानमन्त्री तथा गृहमन्त्रीसँग निकट रहेको भन्दै कर्मचारी, जनप्रतिनिधि तथा विभिन्न संस्थामा प्रभाव जमाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र सांसद खगेन्द्र सुनारको नाम लिँदै कर्मचारीलाई धम्काउने तथा ब्ल्याकमेलिङ गर्ने गरेको आरोप छ ।

एक इन्जिनियरबाट १ लाख ५० हजार रुपैयाँ असुलेको र सरकारी गाडीसमेत प्रयोग गरेको आरोप उनीमाथि छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको झूटो परिचय दिँदै विभिन्न ठाउँमा प्रवेश तथा दबाब दिने गरेका थिए ।

अनुसन्धानका क्रममा उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विश्वकर्माविरुद्ध झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनीबाट ठगी, दबाब वा अन्य कुनै प्रकारको हानी–नोक्सानी भएको भए प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्