भारततर्फ विद्युत् बिक्री गरेर प्राधिकरणले असोजमा कमायो ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ



काठमाडौं,९ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् बिक्री गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको थियो।

प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त परिमाणको विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

द्विपक्षीय विद्युत् बिक्री सम्झौताअन्तर्गत भारतका हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो। त्यसबाहेक भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

गत वर्षको असोजमा विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो। त्यस्तै, चालु आर्थिक वर्षको भदौमा निर्यात कारोबार ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी आम्दानी भएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।

नेपालले आन्तरिक माग पूरा गरेपछि वर्षायाममा बचत हुने विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार भारतका हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।

बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
भारतको प्रसारण प्रणाली प्रयोग गरेर बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सञ्चालनमा आएको छ। गत कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात पुनः सुरु भएको प्राधिकरणले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा बाढी आएको थियो। उक्त बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि विद्युत् निर्यात रोकिएको थियो। आयोजनामा भएको क्षतिले भारतको हरियाणा राज्यतर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट वैकल्पिक जलविद्युत् केन्द्रको विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि आपूर्ति पुनः सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति दिइएको छ।

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते पाँच वर्षे विद्युत् निर्यात सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिँदै आएको छ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप ३१ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको छ। यो अनुमतिसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

प्रतिक्रिया दिनुहोस्