‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति
काठमाडौं,७ कार्तिक । पूर्वउपप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा माग गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धका सन्दर्भमा वाग्लेले दिएको अभिव्यक्तिले नेपाली राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको आशय व्यक्त गरेका छन्।
नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभई राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र नेपाली जनताको हितको संरक्षणमा केन्द्रित रहेको थापाको तर्क छ। भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध कायम गर्नुपर्ने उल्लेख गर्दै उनले सीमा विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको रक्षा भएको धारणा अघि सारेका छन्।
सानो समूहका केही धारणालाई आधार बनाएर समग्र नेपाली समाजको राष्ट्रिय भावनालाई संकुचित रूपमा व्याख्या गर्न नहुने आशय व्यक्त गर्दै थापाले राष्ट्रिय सरोकारका विषयमा जिम्मेवार व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
त्यस्तै, वाग्लेले विगतमा अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग उनको पछिल्लो अभिव्यक्तिको कुनै सम्बन्ध छ कि छैन भन्ने प्रश्नसमेत थापाले उठाएका छन्।थापाले यस बिषयमा सरकारको धारणा के हो स्पष्ट गर्न माग समेत गरेका छन् ।
भारतमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने समय सकिएको बताएका थिए।


