सोलुका विभिन्न स्थानीय तहमा एमालेले ‘मिसन पार्टी जागरण अभियान’ कार्यशाला सञ्चालन गर्ने
सोलुखुम्बु,९ कार्तिक । नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीले पार्टी सङ्गठनलाई सक्रिय बनाउने तथा पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित मंगलबारबाट जिल्लाका स्थानीय तहहरुमा‘मिसन पार्टी जागरण अभियान’ सम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ ।

नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले दिएको जानकारी अनुसार जिल्लाका पाँच स्थानीय तहमा कार्यशाला सञ्चालन गर्न लागिएको हो।कार्यशाला सञ्चालन गरिने स्थानीय तहमा माप्यदूधकोशी, सोताङ, महाकुलुङ, सोलुदूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका रहेको उनले बताए।
निर्धारित कार्यक्रमअनुसार माप्यदूधकोशी गाउँपालिकामा कात्तिक ११ गते बुधबार, सोताङ गाउँपालिकामा कात्तिक १२ गते बिहीबार, महाकुलुङ गाउँपालिकामा कात्तिक १३ गते शुक्रबार, सोलुदूधकुण्ड नगरपालिकामा कात्तिक १५ गते आइतबार र लिखुपिके गाउँपालिकामा कात्तिक १७ गते मंगलबार कार्यशाला सञ्चालन हुनेछ।
कार्यशालामा जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार परिषद्का सदस्य, प्रदेश विभागीय सदस्य, वडा कमिटीका अध्यक्ष तथा सचिव, जनसङ्गठनका जिल्ला समितिका सदस्य र सम्बन्धित पालिकाका पदाधिकारी सहभागी हुनेछन्।


