कंडेल पोल्ट्री फार्मको म्हेपीमा बिक्री डिपो
काठमाडौं। पोल्ट्री फार्ममा उत्पादन हुने अण्डाको सरल तरिकाले बिक्री बितरण गर्ने उदेश्यले म्हेपी नयाँ बजार स्थित कंडेल पोल्ट्री एण्ड एग्रो रिसर्च फार्मले आफ्नो बिक्री डिपोको सुरुवात गरेको छ ।

पोषणयुक्त खानेकुरा हरिया साग सब्जी, तरकारी, अण्डा र मासु जुन कुपोषणको एक कारक तत्वको रुपमा लिइन्छ, ती तत्वहरुको पहुँच र उपलब्धतामा वृद्धि गराउँछ । नेपालको ग्रामीण परिस्थितिलाई नियाल्दा पारीवारिक पोषणका लागि घरायसी कुखुरा पालन अति महत्वपूर्ण मानिन्छ । किनकी यो सानो स्तरको घरायसी कुखुरापालन कार्य हरेक साना, कम आयस्तर र कम जमिन भएका घरपरिवारले पनि सजिलै अंगाल्न सक्छन् । अण्डा प्रोटिनको महत्वपूर्ण श्रोत हुनुको साथै भिटामिन ए लगायत अन्य पौष्टिक तत्वहरु पनि प्रचुर मात्रामा पाइने भएकाले पारिवारिक पोषणमा घरायसी कुखुरापालनको महत्व बढेको छ । त्यसैले पछिल्लो समय ब्यवसायिक रुपमा कुखुरा पालन हुन थालेको छ । चितवन माडी ८, ईन्द्रवस्तीमा रहेको कंडेल पोल्ट्री एण्ड एग्रो रिसर्च फार्म प्रालिबाट उत्पादित अण्डा बिक्रीका लागि काठमाडौंको म्हेपी नयाँबजारमा आफ्नो डिपो स्थापना गरेको छ ।
राम कंडेल र लक्ष्मण कंडेल दाजुभाईको सकृयतामा सञ्चालन रहेको कंडेल पोल्ट्री फार्ममा पचास हजार कुखुराबाट दैनिक उत्पादन हुने एघार सय बिस क्रेड अण्डा उपत्यकाका बिभिन्न स्थानमा सहज र सुपथ मुल्यमा उपभोक्तासम्म पुग्न सकोस् र हरेक क्षेत्रमा हुने बिचौलियाको अन्त्य गर्नको लागिमात्र नभएर किसानले उत्पादन गरेको हरियो तरकारी होस् वा मासुजन्य वस्तुले सहि मुल्य पाओस भन्नको खातिर पनि हामीले यो डिपो सञ्चालनमा ल्याएको उद्घाटन कार्यक्रममा डिपोका सञ्चालक लक्ष्मण कंडेलले बताए ।
हालैको दिनमा कुखुरा पालक किसानले उचित मुल्य नपाएको भन्दै सडकमा कुखुरा छाडेर बिरोध प्रदर्शन गरे भने चितवनका किसानले हरियो सागसब्जी सडकमा फ्यालेर प्रदर्शनमा उत्रे । त्यसैले आगामी दिनमा मासु, अण्डामा आत्मनिर्भर बनाउनको लागि आगामी दिनमा बिक्री डिपो खोल्ने कार्यलाई देशको अन्यत्र पनि बिस्तार गरिदै जाने सञ्चालक कंडेल बताए ।

