मकवानपुरको भीमफेदीमा भेटियो बर्डफ्लू



हेटौंडा ।मकवानपुरमा पालिएका कुखुरामा बर्डफ्लु रोगको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि २०० वटा कुखुरा नष्ट गरिएको छ।

सोमबार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको थियो। बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको करिब २०० वटा कुखुरा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनले सोमबार २०० वटा कुखुरा, ४५ किलो कुखुराको दाना र केही मात्रा अण्डा नष्ट गरिएको बताए।डा. ठाकुरले बर्डफ्लु पुष्टि भएपछि कुखुरा ओसारपसारमा उच्च सतर्कता अपनाइएको बताए।

बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णय गर्दै बर्डफ्लु नियन्त्रणका प्रयासका लागि तयारी अघि बढाएको हो।प्रजिअ पाण्डेले बर्डफ्लु संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्