नेचासल्यान: कालिका आविको नयाँ थालनी,उत्कृष्ट विद्यार्थीलाई फलफूलका बिरुवा पुरस्कार
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु। नेचासल्यान गाउँपालिका(३ कालिका आधारभूत विद्यालयले शैक्षिक सत्र २०७७ मा उत्कृष्ट स्थान हांसिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार स्वरुप फलफूलका बिरुवा वितरण गरेको छ ।

कापी, कलम या अन्य बस्तुहरु बितरण गर्ने बिगत बर्षहरुको प्रचलन तोड्दै बिद्यार्थीहरुलाई पुरस्कार स्वरुप फलफूलका बिरुवा बितरण गर्ने सो विद्यालय नेचासल्यानकै पहिलो विद्यालय बनेको छ। कक्षा ईसिडिदेखि कक्षा ८ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान ल्याउन सफल २७ जना छात्रछात्राहरुलाई शुक्रवार एक कार्यक्रमका बीच फलफूलका विरुवा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक होम कटेलले जानकारी दिए।प्रधानाध्यापक कटेलका अनुसार २०७७ को वार्षिक परीक्षाको आन्तरिक मूल्याङ्कनबाट उत्कृष्ट स्थान ओगटेका २७ छात्रछात्राहरुलाई सुन्तला, कागती, अम्बा र मेवा जातका विरुवाहरु प्रदान गरिएको थियो ।
प्रथम स्थान हासिल गर्ने छात्रछात्रालाई सुन्तला, कागती जात ३र३, मेवा,अम्बा १र१, द्वितीयलाई क्रमशः २र२, १र१ र तृतीय स्थानलाई सबै जातका १र१ ओटा गरि जम्मा १७६ ओटा विभिन्न जातका बिरुवा वितरण गरिएको उनले जानकारी दिए। बिरुवा खरिदका लागि विद्यालयको ३ हजार २सय २० र गाउँपालिकाको ३ हजार २ सय २० गरि जम्मा ६ हजार ४ सय ४० रुपैयाँँ खर्च भएको थियो । पुरस्कारको रुपमा विद्यालयले बिरुवा वितरण गर्नुको उद्देश्य विद्यार्थीहरुलाई बाल्य अवस्थादेखि नै जीवनोपयोगी र व्यवहारिक शिक्षा दिई कृषि पेसाप्रति आकषिर्त गराउनु रहेको विद्यालयले जनाएको छ ।
बिरुवा वितरण कार्यक्रम नेचासल्यान गाउँपालिका(३ का वडा सदस्य खेमराज कटेलको प्रमुख आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष भिम कटेलको सभापतित्व तथा स्थानीय बुद्धिजीवी, अभिभावक, शिक्षकको उपस्थितिमा सम्पन्न भएको हो ।

