काठमाडौंमा थुलुङ दुधकोशी गाउँपालिकाको दुईदिने एकीकृत सेवा शिविर सञ्चालन हुने



सोलुखुम्बु,११ साउन । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले साउन २० र २१ गते काठमाडौंको सुकेधारामा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।

गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष भोजराज कार्कीका अनुसार शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) सम्बन्धी सेवा तथा वडा र गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कटेलले गत वर्ष पनि सुकेधारामै यस्तै एकीकृत सेवा शिविर सञ्चालन गरिएको भन्दै यस वर्ष पनि सोही स्थानमा शिविर आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

यसैबीच, कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रभित्र रहेका चारवटा प्रहरी चौकीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता कार्कीका अनुसार प्रहरी चौकीहरूलाई चेन्सो मेसिन, साबेल, गैती, गल, ह्यामर लगायतका आवश्यक उद्धार सामग्री उपलब्ध गराइनेछ। साथै विपद्का बेला तत्काल प्रयोग गर्न सकिने अन्य आवश्यक सामग्रीसमेत खरिद गरी तयारी अवस्थामा राखिने निर्णय गरिएको उहाँले बताउनुभयो।

गाउँपालिकाले विपद् व्यवस्थापनको पूर्वतयारीलाई थप प्रभावकारी बनाउने तथा नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यी निर्णयहरू गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्