सुनसरीको मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
विराटनगर,१२ साउन । देवानगञ्जमा भएको घटनापश्चात सुनसरीका विभिन्न स्थानमा प्रदर्शन सुरू भएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ ।

देवानगञ्जमा दुई समुदायका बीचमा भएको झडप पछि शसस्त्र प्रहरीले गोली चलाँउदा एक जनाको ज्यान गएपछि आज घटनाको विरोधमा प्रदर्शन भइरहेको छ । तोडफोड र आगजनी भएपछि सुनसरीको पकलीदेखि कोशी व्यारेजसम्म मुख्य राजमार्गमा कर्फ्यू जारी भएको छ ।
यस्तै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ । सुनसरीका सीडीओ ईश्वर प्रसाद अर्यालद्धरा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न र घेराउ गर्न नपाउने गरी निषेध गरिएको छ। देवानगञ्ज क्षेत्रमा पनि हिजोदेखि नै कर्फ्यू जारी छ ।

