नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
वीरगन्ज,१२ चैत । गत शनिबारदेखि उपचार सेवा ठप्प पारे हड्तालमा उत्रिएका वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार, अस्पतालमा ७० बढी चिकित्सक कार्यरत रहेकोमा तीमध्ये ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ल अधिकारीको उपस्थितिमा भएको वार्तामै पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेपछि थप आक्रोशित बनेका चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।
सोमबार राति र मंगलबार दिउँसोसम्म गरी अस्पतालका ६५ जना चिकित्सकले अस्पतालका निमित्त मेसु डा. चित्तरञ्जन साहलाई राजीनामा दिएको अस्पतालका प्रवक्ता डा. सिंहले बताए ।
गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड तथा डा. प्रमोद राममाथि भएको निर्घात कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै वीरगन्जका चिकित्सक गत आइतबारदेखि हड्तालमा छन् ।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आन्दोलनरत चिकित्सकले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख (एसपी) ले पनि राजीनामा दिनुपर्छ भनेपछि विवाद झन् चर्किएको थियो ।
त्यसपछि वार्तामा सहभागी चिकित्सक वार्ता छाडेर निस्किन थालेपछि प्रहरी उपरीक्षक सुदीपराज पाठकले उनीहरूलाई धक्कामुक्की गर्दै प्रजिअको कार्यकक्षमा लगेका थिए । त्यसक्रममा चिकित्सक र प्रहरीबीच फेरि धकेलाधकेल भएको थियो ।

