यात्रुसँग तेब्बर बढी भाडा असुल्ने पक्राउ



काठमाडौं, १७ असार । ट्राफिक प्रहरीले तेब्बर बढी भाडा असुली ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ पर्नेहरू टिकट काउन्टरका कर्मचारीदेखि निजी सवारीसाधनका चालकसम्म छन् ।

हवाई यातायातसमेत सञ्चालन भएसँगै उपत्यका बाहिरिने भित्रने यात्रुहरू बढ्न थालेका छन् ।

वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरू जाने अधिकांश यात्रुहरू सवारीसाधनबाट ठगिन सक्ने भन्दै विशेष सक्रियता अपनाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ ज ३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कार्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक इलामका २६ वर्षीय खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनीहरूलाई कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुरका ४६ वर्षीय राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कार्पियोसहित प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिएको ट्राफिक प्रहरीले जनाएको छ। सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई समेत यात्रुसँग बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरी बृत्त सातदोबाटोमा बुझाएको ट्राफिक प्रहरीको भनाइ छ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कार्पियो चालक भक्तपुरका श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नम्बरको मारुती भ्यान चालक धनकुटाका हरेन्द्र बुढाथोकी छन्। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्तहरूमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एवं गोप्य निगरानी गरिरहेको र तोकिएको भन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिए आवश्यक कारबाही गरिने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

‘जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनस् यात्रुहरू ठगिन सक्ने र यात्रुहरूलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी अपरेसन टोली परिचालन गरेका छौं,’ उनले भने, ‘टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्