नेचा सल्यानको वडा नं ५ र ४ नं वडाको फुर्के टोल आजदेखि सिल

खगिन्द्र राज बास्तोला
सोलुखुम्बु । कोरोना संक्रमणको दोश्रो भेरियन्ट फैंलदैं गएको नेचासल्यान गाउँपालिकाको वडा नं ५ र ४ नं वडाको केहि भूभाग सिल गरिएको छ।

गाउँपालिकाको वडा नं २ मा आवागमनमा पूर्ण कडाई भइरहेका बेला संक्रमणलाई फैलन नदिन बुधबार वडा नं ५ सिल गरिएको हो। वडा नं ५ मा यश अघि दुई ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।
दुई संक्रमितको पहिचान भएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि वडा सिल गरिएको वडाध्यक्ष राजन राईले जानकारी दिए।
वडाभित्र रहेका होटल, पसल अनिश्चित समयको लागि बन्द गर्ने, जिल्ला बाहिरबाट गाउँ फर्केकालाई १४ दिन होम क्वारेन्टीन अनिवार्य गरिएको उल्लेख गर्दै राईले निर्णय उल्लंघन गरिए संक्रामक ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाईने चेतावनी दिए।
उता, पालिकाको अनुमतिमा वडा नं- ४ का स्थानीयले फुर्के टोलमा आवागमन बन्द गराएका हुन्। गाउँपालिकामा पनि कोरोना संक्रमणको दर बढ्दै जाँदा गाउँ सुरक्षाका लागि मुख्य सडक, पर्यटन पथमार्गहरुमा अनावश्यक हिडडुल र जमघट देखिएको भन्दै यस्ता कार्य गर्न अनिश्चितकालसम्मका लागि बन्द गरिएको हो। एम्बुलेन्सलाई खुला रहेपनि खाद्यान्न र निर्माण सामाग्री बोक्ने सवारीलाई बेलुकी ५ देखि ९ बजेसम्म प्रवेश दिने स्थानीयले निर्णय गरेका छन् ।
नेचासल्यानमा हालसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख युबराज शर्माका अनुसार अहिलेसम्म वडा नं १ मा १० जना २ मा ६ जना,३ मा ५ जना र ५ मा २ जना संक्रमित भेटिएका छन।गाउँपालिकाको वडा नं ४ मा भने हालसम्म कोहि पनि संक्रमित नभेटिएको उनले बताए।

