स्थानीयको जीवन रक्षाका लागि लागि यस्तो छ थुलुङ दुधकोशी गाउँपालिकाको तयारी



सोलुखुम्बु । कोरोनाको नयाँ भेरियन्ट संक्रमणले जनस्वास्थ्यमा पारिरहेको गम्भीर असरलाई ध्यानमा राखेर मुलुकका कतिपय स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आफुले चढ्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय सार्बजनिक गरिरहेका बेला जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असीम राईले पनि आफू चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने भएका छन् ।

जनप्रतिनिधिसहित स्थानीयमा कोरोना संक्रमणको लहर सुरु भएसंगै गाउँपालिकाको वडा नं- ९ लोखिम पूर्ण रूपमा सिल रहेका बेला सोमबार बसेको गाउँ कार्यपालिका बैठकमा अध्यक्ष राईले जनताको जीवन रक्षाका लागि आफ्नो सवारी साधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन। बिपत बढ्दै गएका कारण त्यो सहित ३ वटा सवारीसाधनलाई बिरामीको नि:शुल्क उद्दारका लागि तयारी अवस्थामा राख्ने निर्णय भएको पनि अध्यक्ष राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार शंकाष्पद लक्षण देखिएका ब्यक्तिहरुको गाउँपालिकाद्वारा सञ्चालित अक्सिजन कन्सन्ट्रेटर सहितको अस्थायी हस्पिटलमा राखेर उपचार गर्ने,लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने र आइसओलेसनमा बसेकाहरुलाई मेडिकल किट (पल्स अक्सिमिटर, सिटामोल, मास्क, स्यानिटाइजर) उपलब्ध गराई दैनिक दुई पटकसम्म स्वास्थ्य परामर्श प्रदान गर्ने तथा फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई एक महिनाको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ।

यस्ता छन् गाउँ कार्यपालिकाले गरेका निर्णय :

१)कोभिड पोजिटिभ देखिएका जटिल symptoms सहितका ब्यक्तिहरुलाई गाउँपालिकाले सन्चालन गरेको कोभिड अस्पतालमा ल्याएर उपचार गर्ने। symtoms नदेखिएका जटिल अवस्था नभएका ब्यक्तिहरुलाई घरैमा Isolate गरेर राख्ने साथै निजहरुलाई पल्स अक्सिमिटर, डिजिटल थर्ममिटर, सिटामोल, सेनिटाइजर, ग्लोभ, भिटामिन तथा अन्य औषधीसहितको मेडिकल किट उपलब्ध गराउने।

२) घरमै बसेर उपचार गरिरहनुहुने बिरामीहरुलाई दिनको दुईपटक थुलुङ दुधकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुबाट परामर्श सेवा दिने।

३) लकडावनको कारण नागरिकहरु विशेषतः बिरामीहरुलाई अस्पताल सम्म पुग्न कठिनाइ भएको हुदा गाउँपालिकाले आफ्नो गाडी सहित अन्य गाडी ब्यबस्था गरि नि:शुल्क यातायातको ब्यबस्था गर्ने।

४) गाउँपालिका अन्तर्गत कार्यरत सबै स्वास्थ्यकर्मीहरुलाई एकपटकको लागि न्युनतम तलबको पचास प्रतिशत हुनेगरि जोखिम भत्ताको ब्यबस्था गर्ने।

५)गाउपालिका क्षेत्रमा सन्चालित ठुला आयोजनाहरुसङ्ग भएका अक्सिजन सिलिण्डर तथा एम्बुलेन्स गाउँपालिका मातहत ल्याउने।

६) कालोबजारी, महङ्गी लगायतका विकृतिलाई न्युनीकरण गर्न नियमित बजार अनुगमन गर्ने।

७) गाउपालिका बाहिरबाट आउनुभएका सबै नागरिकलाई होम क्वारेन्टाईनमा अनिवार्य राख्ने, सचेत बनाउने र समुदायलाई जोखिम मुक्त गर्ने निर्वाचित सबै जनप्रतिनिधि लागिपर्ने।
(फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्