एनआरएनएले सुरु गर्‍यो ‘नेपालमा अक्सिजन पठाऔं,आफन्तहरुको ज्यान बचाऔं’ अभियान



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रारम्भ गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर शनिवार राति काठमाडौं आइपुगेको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइए अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा शनिबार ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिण्डर ७५ लाख रुपैयाँ बराबरका छन् ।

ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ ।

नेपाल ल्याइएका ती सिलिण्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आज आइतवार बिहान ११ बजे नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको पनि विज्ञप्तीमा जनाइएको छ ।

कोभिड–१९ को संक्रमणका कारण हाल नेपालको स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको जनाइएको छ ।

त्यसै अभियानमार्फत संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्