पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा वरिष्ठ नेताको जिम्मेवारी,७ जना स्थायी कमिटी र ३० जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौं,८ असोज । पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेको वरिष्ठ नेता बनेकी छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई वरिष्ठ नेतामा अनुमोदन गरेको हो।बैठकले ७ जनालाई स्थायी कमिटी र ३० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत पनि गरेको छ ।

बैठकले पार्टीका नेताहरू काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोलालाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ।यसैगरी विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिडी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट पार्टी केन्द्रीय सदस्य मा मनोनीत भएको पार्टी प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
त्यस्तै बैठकले पोलिटब्युरोभित्रबाट एक-तिहाइ स्थायी कमिटी बनाउने प्रावधान रहे पनि समय अभावका कारण तत्काल पोलिटब्युरो गठन हुन नसकेकाले पदाधिकारीबाहेक तत्कालका लागि ७ जनालाई स्थायी कमिटीमा मनोनयन गरिएको उनले बताए
मनोनित हुनेहरूमा पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, थममाया थापा, प्रदीप ज्ञवाली, लालबाबु पण्डित, देवराज घिमिरे, काशीनाथ अधिकारी र शिवमाया तुम्बाहाम्फे रहेका छन्। पोलिटब्युरो गठन, स्थायी कमिटीका बाँकी सदस्य तथा केन्द्रीय कमिटीका बाँकी सदस्यहरूको मनोनयन गर्ने अधिकार केन्द्रीय कमिटीले पार्टी सचिवालयलाई प्रत्यायोजन गरेको उनले बताए ।
त्यस्तै बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, तल्लो तहबाट आएका समीक्षा प्रतिवेदनहरू र सदस्यहरूको धारणाका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको छ । नेतृत्व परिवर्तन वा पार्टी पुनर्गठनसँग जोडिएर देखिएका आन्तरिक विवाद र प्रश्न औपचारिकरूपमा नै बन्द गरिएको आचार्यले बताए ।


