राष्ट्रसङ्घ मुख्यालयमा प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच भेटवार्ता



काठमाडौं,९ असोज । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसङ्घ मुख्यालयमा महासचिव गुटेरेससँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । रसुवाको भोटेकोशी नदीमा आएको विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।

त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्