सोलुखुम्बुको थुलुङदुधकोशीसहित विभिन्न स्थानीय तहले दिए विद्यालयहरुमा सार्बजनिक बिदा



काठमाडौं,८ असोज । मौसम विज्ञान विभागको पूर्बानूमान अनुसार अति भारी वर्षाको सम्भावना बढ्दै गएपछि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकासहित देशभरका विभिन्न स्थानीय तहहरुले पालिका क्षेत्र भित्रका विद्यालयहरुमा सार्बजनिक बिदा दिन थालेका छन् ।

बिहिवार बिहानै देखि देशभर बर्षा सुरु भएसंगै सोलुखुम्बुको थुलुङ दुधकोशी,सुनसरीको इटहरी,मोरङको बिराटनगर,कास्कीको पोखरा,काभ्रे र मकवानपुरका विभिन्न स्थानीय तहले विद्यालयहरुलाई सार्बजनिक बिदा दिने निर्णय गरेका हुन्।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाकाका प्रबक्ता भोजराज कार्कीका अनुसार असोज ८ गतेदेखि १२ गते सोमबारसम्म कोशी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख रहेका कारण अध्यक्ष स्तरीय निर्णयबाट पालिकाभित्रका सार्बजनिक विद्यालयमा शुक्रबार सार्बजनिक बिदा घोषणा गरिएको हो।गाउँपालिकाले सम्भावित विपद्को जोखिमबाट विद्यार्थी तथा विद्यालय समुदायलाई सुरक्षित राख्न बिदा दिने निर्णय गरेको उनले बताए ।

यसैगरी, सुनसरीको इटहरी उपमहानगर र मोरङको विराटनगर महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।जल तथा मौसम पूर्व अनुमान विभागले आजबाट निरन्तर ठूलो पानी पर्ने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाले असोज ८ र ९ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।

मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ ।

यता काभ्रेपलाञ्चोकका चार स्थानीय तहले असोज ८ र ९ गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालका अनुसार बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

उनका अनुसार धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा भने सबै विद्यालय बन्द नगरी जोखिमयुक्त विद्यालयलाई आवश्यकताअनुसार बन्द गर्ने अधिकार सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ ।

मकवानपुरमा सम्भावित वर्षाको जोखिमका कारण यहाँका दुई पालिकाले दुई दिन विद्यालयलाई बिदा दिएका छन् । सम्भावित बाढीपहिरोलाई मध्यनजर गर्दै मकवानपुरको राक्सिराङ र ईन्द्रसरोवर गाउँपालिकाले बिहीबार र शुक्रबार पालिका भरीका स्कुललाई बिदा दिएको हो । विकट राक्सिराङ गाउँपालिकाका विद्यार्थी र शिक्षकहरु विभिन्न खहरे र खोलाहरु तरेर स्कुल आउनुपर्ने भएकाले जोखिम न्यूनीकरण गर्न दुई दिन विद्यालय बन्द गरिएको हो ।

यसैगरी ईन्द्रसरोबर गाउँपालिकाले पनि बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने सार्वजनिक सूचना जारी गरेको छ । ईन्द्रसरोवर गाउँपालिका विद्यार्थी र शिक्षकहरु खोल्सी, खहरे र खोला तरेर स्क्लु आउनुपर्ने भएकाले दुई दिन स्कुल बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्