प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै



काठमाडौं,८ असोज । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन् । अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ।नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ।

प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन्। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी हुने उनको कार्यक्रम छ। न्युयोर्क बसाइका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। भोटेकोसी क्षेत्रमा आएको बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय नेपालले विश्वमञ्चमा राख्ने तयारी गरेको छ।

हाल अमेरिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न कूटनीतिक भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत छन्। महासभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री शाह कतार हुँदै असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ। file foto

प्रतिक्रिया दिनुहोस्