असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, प्रधानमन्त्री बालेनले भने-‘सतर्क रहनुस्’



काठमाडौं,७ असोज । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले प्रधानमन्त्री बालेनले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

हाल अमेरिकाको न्युयोर्कमा रहेका शाहले सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।उनले पानी परिरहेको समयमा र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी–खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

त्यस्तै ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।

मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि प्रधानमन्त्री बालेनले आग्रह गरेका छन्।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गर्दै उनले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्