प्रधानमन्त्री बालेनको न्युयोर्क भ्रमण : आज संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग जाँदै
काठमाडौं,७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क गएका छन् ।मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे उनी कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए।

उनलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।प्रधानमन्त्री शाह दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्ने कार्यतालिका छन् ।
आजै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमश: ब्रिफिङ गर्ने छन् । त्यसलगत्तै प्रधानमन्त्री शाहले सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुनुहुने कार्यक्रम छ।
असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने कार्यक्रम छ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा प्रस्थान हुने छन् । उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्ने छन् ।
अमेरिका भ्रमण सकेर शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।file foto


