संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं,५ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन् । महासभाको ‘उच्चस्तरीय सत्र’ मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । परराष्ट्र मन्त्री खनाल यसअघि नै अमेरिका प्रस्थान गरिरसकेका छन् ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
परराष्ट्रमन्त्री खनालको टोली भने उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागी हुनेछ । उनले विभिन्न मुलुकका समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
महासभामा सहभागी भएर प्रधानमन्त्री शाह १० असोज शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल भने असोज १३ गते मंगलबार नेपाल फर्किने छन् ।
यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगमध्ये एक महासभामा १९३ सदस्य राष्ट्र सहभागी छन् । महासभामा प्रत्येक सदस्य राष्ट्रले ‘एक राष्ट्र, एक मत’ का आधारमा समान मताधिकार प्रयोग गर्छन् । विश्वव्यापी मुद्दामा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहयोग प्रवर्द्धनका लागि महासभा महत्त्वपूर्ण मञ्चका रूपमा रहँदै आएको छ ।


