त्रिपुरेश्वर बस आगलागी प्रकरण : एसएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन



काठमाडौं,५ असोज । राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।

उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नताबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको हो । राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिन्छ । बस चालक दावा लामा र ट्राफिक प्रहरीको टोलीबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।यथाशीघ्र घटना छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको डीआईजी थपलियाले जानकारी दिए।

समितिलाई घटनाबारे छानबिन गर्न पाँच दिनको समय दिइएको छ । हाल चालक लामाको चिन्ताजनक अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्