संविधान घोषणाको ११ वर्ष पूरा, सरकारले टुंडिखेलमा कार्यक्रम आयोजना गर्दै



काठमाडौं,३ असोज । वर्तमान संविधान घोषणाको ११ वर्ष पूरा भएको छ अर्थात् आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

दिवसका अवसरमा हरेक वर्ष सैनिक मञ्च, टुँडिखेलमा कार्यक्रम हुने गरेको छ । दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिन्छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

२०७२ साल असोज ३ गते अर्थात् आजकै दिन संविधानसभाबाट नेपालको संविधान, घोषणा भएको थियो ।​ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको छ । संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्