उच्च हिमाली क्षेत्रमा हुन सक्ने विपद्का लागि पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक : पाकिस्तानी राजदूत
काठमाडौं,१ असोज । नेपालका लागि पाकिस्तानका राजदूत आमिर खानले रसुवा–क्यिरोङ विपद्बाट पाठ सिक्दै उच्च हिमाली क्षेत्रमा हुन सक्ने विपद्का लागि पूर्वतयारी र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

राजदूत खानले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD), राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)नेपाल र नेपालस्थित स्विट्जरल्यान्डका राजदूतको सहकार्यमा आयोजित गोलमेच छलफलको प्रशंसा गरेका हुन्।उनले उच्च हिमाली क्षेत्रमा विपद्का कारण उत्पन्न हुने श्रृंखलाबद्ध जोखिमको सामना गर्न जलवायु वित्त,क्षेत्रीय सहकार्य र पूर्वतयारी अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
रसुवा–क्यिरोङ विपद्बाट प्राप्त सिकाइका आधारमा भविष्यमा हुने पुनर्निर्माणलाई थप दिगो,सुरक्षित र विपद् प्रतिरोधी बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
ICIMOD का अनुसार २६ अगस्टमा रसुवाको लाङटाङ लिरुङ क्षेत्रमा भएको चट्टान–हिमपहिरोले भोटेकोशी–त्रिशूली क्षेत्रमा ठूलो बाढी निम्त्याएको थियो। उक्त घटनापछि नेपालसहित हिन्दूकुश हिमालय क्षेत्रका विभिन्न देशका विज्ञ, सरकारी अधिकारी तथा विकास साझेदारहरूबीच विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र उच्च हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे छलफल गरिएको हो।
छलफलको उद्देश्य भविष्यमा हुन सक्ने यस्ता श्रृंखलाबद्ध हिमाली विपद्का जोखिम पहिचान गर्दै अनुगमन, पूर्वसूचना, उद्धार तथा पुनर्निर्माण प्रणालीलाई थप प्रभावकारी बनाउनु रहेको ICIMOD ले जनाएको छ।




