नेपाल प्रहरीमा २११ जना असइको माग,असाेज १२ गतेदेखि कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं,२ भदौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । असई पदका लागि असाेज १२ गतेदेखि कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । उमेर हद २५ वर्ष राखिएकाे छ ।

प्रहरी प्रधान कार्यालयले आज प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे । खुलातर्फ ११४ जना मागेकाे छ भने बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा पनि नयाँ भर्ना खुलाएको छ । कार्यालय सहयोगीका विभिन्न श्रेणीतर्फ कुल १२३ पदमा दरखास्त आह्वान गरिएको हो ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कार्यालय सहयोगीअन्तर्गत भान्से पदमा ८३ जना, हजाम पदमा १५ जना र कुचीकार पदमा २५ जना माग गरिएको छ ।
इच्छुक उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइट www.nepalpolice.gov.np मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


