सप्तकोशी नदीमा बेपत्ता सशस्त्रका दुई गोताखोरको बिहानैदेखि खोजी कार्य सुरु
काठमाडौं,२३ जेठ । सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य शुरु भएको छ ।

मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.६ गण सप्तरी,दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाटसहित संयुक्त टोलीद्वारा बिहिबारबाट सुरु अभ्यासका क्रममा सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा सशस्त्रका दुई गोताखोर बेपत्ता भएका थिए।
बेपत्ता हुनेमा श्रीअन्तु गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद छन् ।
उनीहरुको खोजी कार्यका लागि शुक्रबार बिहान दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि बिजय हमालको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरी बाट बिपद् ब्यबस्थापन तालिम प्राप्तसहित डिएसपि बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभबी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारीको कमान्डमा ५ जना गोताखोरलाइ बिहिबार राती १०ः४५ बजे त्यस तर्फ पठाइएको छ । २०६९ सालमा बंगलादेश बाट गोताखोर तालिम लिएका भन्डारी त्यस यता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन् ।
उनले घटनास्थल,पानीको बहाब र अन्य कुरा फिल्डमानै नहेरि भन्न नसकिने बताएका छन् । यो तालिम नभइ मनसुनजन्य बिपद् उद्दारको पुर्ब तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो । यस प्रकारका अभ्यास अहिले देश भरिनै भइरहेका छ्न् ।
बेपत्ता भएका उनीहरु दुबै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन् । त्यसपछि उद्दारका लागि विभिन्न ठाउंमा खटिएका थिए तर उनीहरु गोताखोर प्रशिक्षक नभएको र हिजो भएको पनि प्रशिक्षण नभइ ३/४ दिनको उद्दार अभ्यास रहेको सशस्त्रको भनाई छ।

