रिहा भए कांग्रेसका पूर्वसांसद आलम
काठमाडौं,१४ जेठ । जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि नख्खु कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट रिहा भएका छन् ।

उच्च अदालत वीरगञ्ज इजलासले जिल्लाको उक्त फैसला उल्ट्याउँदै आलमलाई बुधबार सफाइ दिएको छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट रिहा गरिएको हो ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
-फाईल तस्बिर

