गृहमन्त्री राजीनामा प्रकरण : सत्तारुढ प्रमुख दल र विपक्षीको आ-आफ्नै अडान,सदन चल्ने सम्भावना न्यून



काठमाडौं, १४ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी थिए ।

स्रोतका अनुसार, बैठकमा प्रधानमन्त्री ओली स्वयंले गृहमन्त्रीले राजीनमा दिन आवश्यक नहरेको बताएका थिए ।

उता, गृहमन्त्री लेखकको राजीनामा नआए विपक्षी दलले सदन अवरोधलाई जारी नै राख्ने भएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको विपक्षी दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) का नेता सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएन ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र अनुसन्धान हुनुपर्ने माग राखिरहेका छन् । सोही कारण हिजो पनि सदन बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस्