प्रतिनिधिसभा सदस्यमा पराजित पौडेलले पाए राष्ट्र बैंकको गभर्नर बन्ने अवसर
काठमाडौं,६ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको लामो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्।

रिक्त रहेको झण्डै डेढ महिनापछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।गभर्नर नियुक्तिको विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्त प्रक्रिया अगाडि बढेको थियो।
त्यसलगत्तै अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिको बैठकले पौडेलसहित निलम ढुंगाना र डा. दिनेश भट्टराईको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।’तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येे डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने।
चितवन निवासी पौडेल गत संसदीय निर्वाचनमा रास्वपाका हरि ढकालसंग पराजित भएका थिए। चितवन क्षेत्र नं १ मा कांग्रेसबाट उम्मेदवार बनेका पौडेले तेस्रो स्थान कायम गरेका थिए। त्यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए।उपाध्यक्षबाट राजीनामा दिएर उनी संसदीय राजनीतिमा होमिएका थिए।
उनी नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन्।यस अघि कांग्रेसले नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने ब्यापक चर्चा थियो।त्यसैका लागि उनले पदबाट राजीनामा गरे पनि कामु गभर्नर निलम ढुंगानाले त्यस्लाई स्वीकृत गर्न अस्वीकार गरेपछि त्यो अवसर पौडेललाई जुरेको हो।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते नियमित अवकाशमा गएका पछि सो पद रिक्त थियो।

