यात्रा संस्मरण : मेरापिक चढेर महाकुलुङ गाउँपालिका गान गाउँदाको त्यो क्षण….

२०७९ सालको पुस महिनादेखि २०८१ सालको वैशाख महिनासम्म सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि सोलुखुम्बु जिल्लाकै महाकुलुङ गाउँपालिकामा२०८१ सालको असोज महिनाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । महाकुलुङ गाउँपालिका सोलुखुम्बु जिल्लाको आठवटा स्थानीय तहमध्ये पर्यटकीय आकर्षण र आवागमणको आधारमा सगरमाथाको गाउँपालिका खुम्बु पासाङल्हामू पछि दोस्रो महत्वपूर्ण गाउँपालिका हो ।

दशैं वा तिहारको विदामा कतै न कतै घुम्न जाने चलन नेपाली समाजमा विकास हुँदै गएको छ । यस मामलामा म पनि अछुतो रहिंन । घुम्न जाने विकल्पहरु सोच्दा सोच्दै सम्झिन पुगियो–मेरापिक । महाकुलुङ गाउँपालिकामा एउटा यस्तो पिक (हिमाली चुचुरो) छ, जुन पिक पर्यटकीय आवागमनको आधारमा नेपालको व्यस्त मध्येको पिक, उचाईको हिसावमा आरोहण खुला गरिएका पिकमा अग्लो मध्येको पिक (७ हजारभन्दा कम उचाई हुने हिमाल), त्यस्तै सर्वोच्च शिखर सगरमाथा आरोहण अगाडी प्राय जसो प्रत्येकले चढ्ने पिक, अनि महाकुलुङ गाउँपालिकाले आफ्नो शान मानेको पिक।
यस्तै विविध महत्वपूर्ण विशेषणले सम्बोधित पिक हो – मेरापिक। जसको उचाई नेपाल पर्वतारोहण संघ तथा सरकारी तथ्यांकमा ६४७० मिटर उल्लेख गरिएको छ भने स्थानीयले यस पिकको उचाई ६४७६ मिटर मान्ने गर्छन् ।
मेरापिक क्षेत्र घुम्न जाने साथी भाईहरुको प्रस्तावलाई स्वीकार गरेर महाकुलुङ गाउँपालिकाको बुङबाट १६ गतेको दिन अर्थात औँसीको दिन महाकुलुङ गाउँपालिकाभित्र नै पर्ने सोलुखुम्बुको अर्को पर्यटकीय गन्तव्य पाँच पोखरीतिर लागियो । त्यो दिन चलेम पुगेर बसियो भने अर्को दिनको हिडाईं अलि शंका र अलमलमा सुरु गरियो । बिहानैको बिग्रेको मौसम अनि लेकको बाटो । अघिल्लो दिन समुद्र सतहदेखि १७ सयको हाराहारीबाट ३६ सयको उचाइमा पुगिएको थियो । आज ३६ सय मिटर उचाइबाट सुरु गर्दा यतिको उचाईको विविधता पचाउन कम्तिको चुनौति थिएन । करिब दुई घण्टाभदा बढी ठाडो उकालो हिंडेपछि हुर्हुरे डाँडा पुगियो । हुर्हुरे डाँडा ४२८० को उचाइमा छ ।जहाँबाट आकर्षक दृश्यावलोकनका साथमा कञ्चनजंघा हिमाल सहितका पाथिभरा हिमालहरु समेत देख्न सकिन्छ ।
त्यसपछि करिव दुई घण्टाको हिंडाई र ४४८० मिटरको पासपछि नेपालकै १०० वटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा पहिचान भएको तथा महाकुलुङ गाउँपालिकाको पर्यटकीय र धार्मिक दृष्टिले अति नै महत्वपूर्ण क्षेत्र पाँच पोखरी पुगियो ।पाँच पोखरी सोलुखुम्बु जिल्लाकै आकर्षक पर्यटकीय र धार्मिक दृष्टिले महत्वपूर्ण स्थान हो । यहाँ वर्षको दुई पटकऋषि तर्पणी र वैशाखे पूर्णिमामा मेला लाग्ने गर्दछ । पाँचपोखरीको सुन्दरताको स्वाद लिएपछि हाम्रो दोस्रो दिनको गन्तव्य कोठेतिर लागियो । कोठेतिर लाग्दा विचमा मझाङ पिक पनि पर्दछ । त्यो दिनको बाटोबाट देखिएका दृष्य वास्तवमै सम्झन लायक छन् ।
हिमाली र पहाडी मिश्रित दृश्यावलोकन गर्दै समुद्र सतहदेखि ३६०० मिटरको उचाइमा इङ्खु खोलाको किनारमा रहेको कोठे बजारमा बास बसियो । कोठे बजार खुम्बु पासाङल्हामु, माप्य दुधकोशी र महाकुलुङबाट मेरा क्षेत्र जाने बाटोसँग मिसिने चौबाटोको चोक हो । आजको यात्रा हामिले ३६ सयको उचाइबाट सुरु गरी करिव ४५ सय पुगेर फेरी ३६ सयकै उचाईमा पुगेर टुङ्ग्यायौँ । कोठे बजारमा राती देउसेको रौनक थियो । त्यहाँका स्थानीयहरुको रमाइलो र विशेष गरी मादले(बुङ गाउँ स्थायी निवासी त्यँहाका साहुजी) दाजुको देउसे भट्याउने र गीत गाउने र मादल बजाउने कला, आहा! नै थियो । देउसेको त्यो रमाइलो हामीले भरपुर उपयोग गर्यौाँ ।
कोठे बजारमा होटल मालिक मिङ्रुमा शेर्पाको आतिथ्यता प्रशंसनीय लाग्यो । कोठेमा नै मकालु बरुण राष्ट्रिय निकुञ्जको चेक पोष्ट रहेछ । विदेशी र नेपाली सबैले त्यहाँ निकुञ्ज प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।कोठेबाट चारपाटे तथा मेरापिक क्षेत्र सहितको रमणीय दृष्यावलोकन गर्दै अगाडी बढियो । आज मेरापिकको चुचुरो नै पुगिन्छ कि भन्ने साहस मनमा पलाउन थालेको थियो ।
इंखु खोलाको किनारै किनार करिव चार घण्टाको हिडाईपछि नौलेख (थाङ्ना क) भन्ने ठाउँमा पुगियो । लेकको बाटोमा दिनको तीन/चार घण्टाभन्दा बढिको हिडाईं स्वस्थजनक हुँदैन । हामी पनि सोही रफ्तारमा थियौँ ।थाङ्नाकचारपाटे हिमाल (क्यासर पिक) ६७६९ मिटरको फेदमा पर्दछ, यहाँ हिन्दु धर्मावलम्वीहरुले पवित्र हिमाल (शिव पार्वती कैलाश पर्वत जाँदा बास बसेको) मान्यता रहेको छ । थाङ्नाहकमा हाम्रो अचम्मको संयोग थियो । त्यहाँ रजनी, रमिता र सविता बहिनीहरुले भाईटीकाको तयारी गरेको थिए । थाङ्नाक पुगेको भोलिपल्ट २०८१ सालको कार्तिक १८ गते ठ्याक्कै हामीले ठाङ्नाक (समुद्र सतहदेखि करिव ४३ सय मिटरको उचाइमा) भाइटीका लगायौँ ।यति उचाइमा भाईटीका लगाउनु हाम्रा लागि रमाइलो अविस्मरणीय नै थियो ।
थाङ्नाकबाट अर्को दिन ४९०० मिटरमा रहेको मेरा पिकको बेस क्याम्प मानिने खरेखारेमा गएर बसियो । होटल मालिक पेमा डेण्दी शेर्पाको न्यानो आतिथ्यताका साथ लेकको लागि आवश्यक पर्ने खानपिनले हामीलाई उचाईमा आफूलाई सहज बनाउन सहयोग गर्यो । त्यहाँ मेरापिक चढ्न आएका विदेशी पर्यटकको एक प्रकारको घुइँचो नै थियो । पुगेको दिन सहित दुई दिन हाम्रो बसाई खरेमा हुनेवाला थियो । मौसम पनि खरे पुगेको दिनसम्म खुलेको थिएन । तर मौसम भोलिबाट खुल्ने मौसम पूर्वानुमान रहेकोले हामी निराश भने थिएनौं । खरे बसाईको दोस्रो दिन हामी करिव ५२०० मिटरको उचाईसम्म पुग्यौं, हिउँमा रमाइलो गर्यौँ । आजबाट हामीसँगै गएका अनन्त भाईसहित तीन जनाको समूह घर फर्किने तयारीमा थियो भने रजनी बहिनी हाम्रो यात्राको नयाँ सहयात्री हुन आउनेवाला थिइन् ।
हाम्रो मूख्य यात्रा कार्तिक २० गतेको थियो, त्यसैले अघिल्लो दिन नै सबै तयारी गरिएको थियो । सिलिपिङ ब्याग, सुपर डाउन ज्याकेट र सुरुवाल, कान पुरै छोप्ने काने टोपी, कालो चश्मा, पानी तातो रहने थर्मस, स्टिक, माउन्टेनियरिङ बुट, बुटमा लगाउने क्र्याम्पन्स, हार्नेस, क्याराबिनर्स,टर्च लाइट, झोला, क्यामेरा, चक्लेट आदीको जोहो भैसकेको थियो । आजको यात्रा बुटमा क्र्याम्पुनसेट गरेर हिउँको बाटो हिंड्नुपर्ने थियो । मेरा पिकको चुचुरोसम्मको यात्राको सम्झनामा पाइलाहरु उकालोमा पनि सहजसाथ चल्दै थिए ।
मेरा–ला ५४०० मिटरको उचाइको पासपछि खोङ्मादिङ भ्यालीतिर जाने विकल्प पनि रहेछ। जो बाटो खुम्बु जाने आम्पूलाप्चा पास, मकालु जाने शेर्पेनी कोल पास र महाकुलुङ झर्ने हुँगा खोला तिरैतिर जाने तीन विकल्पमा पुग्छन् भने बरुन्त्से बेस क्याम्प जाने बाटो पनि मेरा–ला पासकै बाटो हो । हामी भने मेरा–ला हुँदै ५८२० मिटर उचाइमा रहेको मेरा हाइ क्याम्पमा बस्न जाँदै थियौँ । मेरा–ला फेदको क्र्याम्पुन पोवाइन्टदेखि हाई क्याम्पसम्मको हिउँमाथिको बाटो यति साहशिक र उत्साहजनक थियो कि जसको शाब्दिक वर्णन असम्भव छ,केवल अनुभवमा मात्र गर्न सकिन्छ। हाईक्याम्पबाट तलतिर हेर्दा पुरै पोखरी नै पोखरी, चारैतिर हेर्दा हिमाल र हिउँमात्र अहा!यतिको स्वर्गीय आनन्द केवल हिमालमा मात्र सम्भव छ । पूर्वमा कञ्चनजङ्गासम्म देखिने हिमाली सौन्दर्य साँच्चै हेर्न लायक थियो ।
मेरापिक जानेलाई सबैभन्दा गाह्रो हुने दिनको रुपमा हाई क्याम्पको बसाईंलाई मानिन्छ । ५८०० मिटरको उचाइमा अक्सिजनको कमी, पानी नहुँदा हिउँ तताएर पकाएका खानेकुराहरु, टेन्टभित्र पनि घोच्ने चिसो,अल्टिच्युड सिकनेस, टाउकोको दुखाई, अनेक अनेक समस्या अनि केवल तातोपानी, र पारासिटामोलको साथ । हुन त मलाई लेकले खासै दु:ख दिएन र टाउको दुख्ने समस्याले पनि सताएन तर केही साथीहरुको पिडा नै मलाई काफी थियो । मेरा लागि यो लेकको यात्रा पहिलो थिएन र लेकको बाटोसँग परिचित हुनाले मलाई सहज नै थियो । त्यसमाथि हिमालको चुचुरोले बोलाइ राखेजस्तो हुने अनुभव ।
बेलुका ६ बजेतिर खानपिन सबै सकेर टेन्टभित्र सिल्पिङ ब्याग ओढेर सुत्ने असफल प्रयास गरियो । खासै निन्द्रा लागेन । बिहानको २ बज्यो, यो ठ्याक्कै बिहानको खाजा खाने समय हो ।लेकमा सबैभन्दा उपयुक्त खाना भनेको सातु हो, सातु भनेको अन्न भुटेर बनाइएको पिठो हो । बिहान अरु ग्रुपभन्दा पछाडी करिव पौने ३ वजे टाउकोमा टर्च लाइट बाली, डोरीमा हार्नेस बाँधेर समूहका सबै सदस्यले सँगै यात्रा सुरु गरियो । सामान्यतया हाईक्याम्पदेखि पिकको यात्रा ५ घण्टादेखि बढिको यात्रा हो । हामी अरुभन्दा केहि छिटो थियौँ किनकी हामीलाई लेकको समस्याले कम नै दुख दिएको थियो ।हामी ६ हजार १ सय मिटरमाथि पुग्दा बिहानको मिर्मिरे घाम उदायो । बाटोभरीका कठिन यात्रा, उकालो, लेक, चिसो अनि बाटोको २ मिटर आसपासको खर्पास, जहाँबाट भूलवश पनि भित्र छिरियो भने जिउँदो फर्कने सम्भावना न्यून हुन्छ । तर मनमा केवल मेरापिकको चुचुरोमात्र आइराखेको हुनाले सारा कठिनाई भूलिने रहेछ ।
बिहानको मिर्मिरे घाम यति पारिलो थियो कि, सायद स्वर्ग त्यहि हो, जब घाम लाग्छ त्यसपछि कालो चश्मा लगाउनु पर्ने रहेछ, हामीले त्यहिँ गर्यौं । हामीले हाम्रो हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) डेन्डी शेर्पाको सुझाव अनुसार नै पाइला चालेका थियौँ ।
बिहानीको करिव चार घण्टाको हिडाईँ, हिडाईँको विचमा देखिने चारै सुरका हिमाली दृष्यको अनुभव लिँदै हामी मेरा पिकको चुचुरो नजिकैमा पुग्योँ ।मेरापिकको चुचुरो एकदम नजिक, यतिखेरको समय मुटु ढुकढुक हुने समय थियो । केहि छिनको खाजा खाने समय सहितको विश्राम पनि नलिन पाए हुन्थ्यो जस्तो लाग्न अनुभूति । मेरापिकको चुचुरोमै पुग्ने बेला डोरीमा क्याराबिनर्सफिट गरेर उकालो चढ्न पर्ने रहेछ,त्यो चाँहि अन्तिम इफोर्ट हो ।
यसपछि समूद्र सतहबाट ठिक ६४७० मिटरमा रहेको चुचुरो, चुचुरोबाट देखिने हिमालहरुको दृष्य, अरे वाह! हिमालको चुचुरोमा पुगेपछि नआउनेको नि आँशु आउने रहेछ । चुचुरोबाट ८ हजार मिटर माथिका सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु जस्ता हिमाल देखिन्छन् भने अन्य साना हिमाल र शिखरहरु त कति हो कति देखिने ! ३६० डिग्री नै हिमाल देखिने ।
मेरापिकको शिखरमा यति रमाइयो, यति खुशी भैयो, खुशी साटियो कि बर्णन गरेर साध्य छैन । महाकुलुङ गाउँपालिका निवासी राष्ट्रिय निकुञ्ज विभाग अन्तर्गत कार्यरत सिनियर गेम स्काउट भाई मिङ्मा छिरिङ कुलुङ, बहिनी रजनी कुलुङ, महाकुलुङ निवासी दाजुहरु नाम्गेल शेर्पा, तेन्जी शेर्पा, छेवाङ शेर्पा, हाम्रो माउन्टेन गाइड डेन्डी शेर्पा समेत महाकुलुङ निवासी नै हुनुहुन्थ्यो । हामीले महाकुलुङ गाउँपालिकाको पालिका गान गायौँ, गर्वले छाती फुल्यो ।
हिमालको शिखर टेक्नु एउटा जित रहेछ, अनेक संघर्ष र कोशिस पछिको । जसरी युद्धमा जित हुन्छ, जसरी कुनै मिसनमा सफलता पाइन्छ त्यस्तै सफलता रहेछ, सफलता माथि पनि स्वर्गीय अनुभुति हुनुको अर्को मजा । यो त जीवनकै एउटा ठुलो अनुभूति रहेछ । हामीले उक्त अनुभूति स्वयम् भोग्यौँ । अनि विस्तारै मनले नमानि नमानि विदाई भन्यौँ, सुन्दर चुचुरोलाई…….।
[लेखक महाकुलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (अधिकृतस्तर सातौँ)हुनुहुन्छ।]




