क्रोएशियाको जाग्रेबमा ‘नयाँ वर्ष Music Fest–2083’आयोजना हुने



दिप खालिङ(युरोप सम्बाददाता),७ बैशाख । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर रङ्ग मन्च नेपालले “नयाँ वर्ष Music Fest–2083” नामक विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अप्रिल २६, आइतबारका दिन भव्य रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालको चर्चित गायिका मेलिना राईको विशेष प्रस्तुति रहनेछ। साथै, क्रोएशियामा बसोबास गर्ने नेपाली आप्रवासी कलाकारहरूले पनि विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।

रङ्ग मन्च नेपालका अध्यक्ष अशोक दुमि राईका अनुसार, प्रवासमा रहेका नेपालीहरूबीच गीत–संगीतमार्फत आपसी सद्भाव, आत्मीयता र एकता कायम गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। नयाँ वर्षको उल्लासलाई सामूहिक रूपमा मनाउँदै नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य पनि कार्यक्रमले राखेको छ।

कार्यक्रम व्यवस्थापक सुमन राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्रोएशियामा रहेका नेपाली व्यवसायी तथा समाजसेवीहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले प्रदान गरेको प्रायोजन र सहयोगले कार्यक्रमलाई अझ भव्य बनाउन मद्दत पुगेको उनले बताए।

नेपाली समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचान झल्काउने यस कार्यक्रमले जाग्रेबस्थित नेपालीहरूमा नयाँ वर्षको उत्साह थप्ने विश्वास आयोजकको रहेको छ।

प्रतिक्रिया दिनुहोस्