एमाले थुलुङदुधकोशीले कार्तिक २ गतेदेखि महिला-पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने
सोलुखुम्बु।नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीले दशैं तिहारको अवसरमा शुभकामना आदानप्रदानसंगै महिला-पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

‘यही कार्तिक २ गते रमणीयस्थल सुकेपोखरी जाउँ,महिला-पुरुष भलिबल प्रतियोगितामा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रतियोगिता २ गतेदेखि ४ गतेसम्म गाउँपालिकाको वडा नं-५ स्थित सुकेपोखरीमा सञ्चालन हुने नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीका अध्यक्ष भुपालसिं राईले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य मानबीर राईले उद्घाटन गर्ने सो कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र कोशी प्रदेश सरकारका खानेपानी,सिंचाइ तथा उर्जामन्त्री बुद्धिकुमार राजभण्डारीको बिशेष उपस्थिति रहने अध्यक्ष राईको भनाइ छ।उनका अनुसार सोही कार्यक्रममा लामो समयदेखि नेकपा एमालेको पक्षमा क्रियाशील ६० बर्षभन्दा माथिका ज्येष्ठ कम्युनिस्टहरुलाई मायाको चिनो हस्तान्तरण समेत गरिने छ।
महिला-पुरस्कार भलिबल प्रतियोगिताका बिजयी खेलाडीहरुलाई समान राशीको पुरस्कार बितरण गरिने अध्यक्ष राईले बताए।प्रतियोगिताका प्रथम,द्वितीय र तृतीय समूहलाई क्रमशः५० हजार,३० हजार र २० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्रका साथै उत्कृष्ट एकजना खेलाडीलाई २५ सय नगदसहित ट्रफी र प्रमाणपत्र बितरण गरिने छ।
FIVB को नियम अनुसार सञ्चालन गरिने प्रतियोगिताका लागि ३०५५ समूह दर्ता शुल्क तोकिएको अध्यक्ष राईले जानकारी दिए।

