थुलुङ दुधकोशीमा बजार क्षेत्र अनुगमन, ३३ हजार बढीको अखाद्य बस्तु जफत
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको दुई वटा बजार क्षेत्रमा गरिएको अनुगमनबाट ३३ हजार बढीको अखाद्य बस्तु जफत गरिएको छ ।

गाउँपालिका वडा नम्बर १ मा रहेको साप्ताहिक हाट नेले बजार वडा नम्बर २ को देवीथानबाट उक्त ३३ हजार ३० रुपैयाँ बजारबरको अखाद्य बस्तु जफत गरिएको हो।बजार अनुगमनका क्रममा एक वटा पसल तीन दिनको म्याद राखी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले जानकारी दिनुभयो ।
उक्त पसल बिना दर्ता, बिना बिलबिजक र बिना नापतौल पसल सञ्चालन गरेको पाइएकाले बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउँनुभयो।अनुगमनको क्रममा होटल तथा पसल दर्ता, खाद्य बस्तुको म्याद, मुल्य सूचि लगायतलाई हेरिएको हो ।
गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा साप्ताहिक हाट नेले बजार र वडा नम्बर १ को देवीथानमा अनुगमन गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
मंगलबार नेले बजारको २२ वटा र काँगेलको ५ वटा गरि जम्मा २७ वटा पसलको अनुगमन गर्दा जफत गरिएको अखाद्य बस्तु आजै नष्ट गरिएको प्रवक्ता कार्कीले बताउँनुभयो।उपभोक्ता अधिकारलाई ध्यानमा राखेर पालिकाको सबै बजार क्षेत्र तथा पसलमा अनुगमन गरिने उहाँको भनाई छ ।

