सोलुखुम्बुमा एक महिने बेकरी तालिम सुरु



सोलुखुम्बु।सोलुखुम्बुमा एक महिने बेकरी तालिम सुरु भएको छ । महिला उद्यमी संघ नेपाल सोलुखुम्बुको आयोजनामा उक्त तालिम सुरु भएको आयोजक संस्थाका अध्यक्ष शारदामाया तामाङले जानकारी दिनुभयो ।

तालिममा दशदिन प्रयोगात्मक र सैद्धान्तिक दुबै तथा २० दिन प्रयोगात्मक कक्षा मात्रै सञ्चालन हुने बताइएको छ । तालिममा जिल्ला भित्रका ३० जना महिलाहरुको सहभागीता रहेको छ । उक्त तालिममा स्थानीय उत्पादन (कोदो तथा फापरको पिठो, आटा) लगायतको केक, दुनोट लगायत ७ भन्दा बढी परिकार बनाउने सीप सिकाइने छ ।

अध्यक्ष तामाङका अनुसार तालिम सञ्चालनका लागि आइएलओको आर्थिक सहयोग रहेको छ । महिलाहरुलाई उद्यमी बनाई आर्थिक विकासमा सहभागी बनाउने कार्यक्रम अन्तरगत तालिम आयोजना गरिएको उहाँको भनाई छ । वर्तमान अवस्थामा समेत महिलाले उद्यम गर्ने भएतापनि आर्थिक स्वामित्व भने पुरुषमा सिमित हुने गरेको भन्दै अध्यक्ष तामाङले यस्ता परिपाटीको अन्त्य गर्नको लागि महिला लक्षित कार्यक्रममा जोड दिइएको बताउनुभयो ।

महिलाहरु आर्थिक रुपमा कम्जोर हुँदा हरेक क्षेत्रमा उनीहरुको उपस्थिति प्रभावकारी नहुने र राज्यले दिएको अधिकार सदुपयोगमा समेत औपचारिकतामा सिमित हुने गरेको अध्यक्ष तामाङको भनाई छ।

प्रतिक्रिया दिनुहोस्