थुलुङ दुधकोशी आईपुग्यो लम्पी स्किन विरुद्धको ५ हजार डोज खोप, अभियानकै रूपमा पशुहरुलाई लगाईने
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा लम्पी स्किन रोग विरुद्धको ५ हजार डोज खोप आइपुगेको छ । गाई, भैंसीमा तीब्र रुपमा फैलिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक एन्टिबायोटिकसहित उक्त खोप मंगलबार पालिका आइपुगेको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार बुधबारदेखि सवै वडामा उक्त खोप पठाइनेछ । वडामा रहेका पशु प्राविधिकले कृषकको गोठमा पुगेर खोप लगाउनेछन । जसको लागि कुनैपनि शुल्क नलाग्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
वडा भित्रका सबै गाई, भैंसीलाई अभियानकै रुपमा खोप लगाइने भएकाले सहयोग र समन्वयको लागि जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिइसकेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
वडा भित्रका सबै गाई, भैंसीलाई खोप लगाउने अभियानमा सहयोग गर्न गाउँपालिकाले कृषकलाइ अनुरोध पनि गरेको छ । पालिकाका पसु शाखा प्रमुख दख्खल बोहराका अनुसार लम्पी स्किनका कारण हाल सम्म ७६८ वटा गाई, भैंसी संक्रमित भएकोमा ५२ वटाको मृत्यु भएको छ । संक्रमित पशु मध्ये ६० प्रतिशत माथि सन्चो भएको बताइएको छ ।
पालिकाको ९ वटा वडा मध्ये सबैभन्दा बढी वडा नं. ३ पञ्चन र सबै भन्दा कम वडा नं. १ नेलेका गाईगोरु बिरामी भएको पालिकाको तथ्याङ्क छ । औषतमा गाई भन्दा गोरुमा यो रोगको संक्रमण बढी देखिएको छ । भने हाल सम्म १ वटा भैँसीमा यो संक्रमण देखिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

